काठमाडौं- चितवन- २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ। निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन्।
सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ। इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन्।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठक लगायतका आवश्यक तयारीका काम गरिरहेका छन्। मतपत्र, मतपेटिका लगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको उनले जानकारी दिए।
चितवन- २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा ६ सय ९० कर्मचारी खटिएका छन् । उनका अनुसार एक मतदान केन्द्रमा पाँच कर्मचारी खटाइएको छ। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन्।
लामो दूरीका सवारी साधन मात्रै चल्ने
चितवन- २ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।
लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ। प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिङ, नारायणगढको पुल्चोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ।
चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ। वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारी साधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।