कुरा हो, २०४० ताकाको। देशमा पञ्चायतीराजको दबदबा थियो। तरपनि राल्फा समूह परिवर्तनको गीत गाउँदै गाउँगाउँ छिर्थे। राल्फालीहरुले गाउने एउटा गीतको बोल छ, ‘मेरो देश खोज्दै जाँदा, देश मैले भेटे। जनता नै देश रैछ, देश मैले चिने।’
यो गीतको शब्द यतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरा मुनिका जनतासँग ठ्याक्कै मेल खान्छ। त्यो जमिन हाम्रो हो भनिदिने तीनवटै गाउँ गुन्जी,नाभी र कुटीका स्थानीयलाई भारतले आफूमा गाभिसक्यो। अर्थात् आफ्नो नागरिक बनाइसक्यो। यसै कारण भारतले त्यो भूमी आफ्नो भएको दलिल पेस गर्दै आइरहेको हो। राज्यले जतिबेला आफ्ना नागरिकलाई शान्ति, सुरक्षा र बाँच्न पाउने आत्मनिर्णयको अधिकारबाट बञ्चित गर्छ, जनता स्वतस्फूर्त रास्ट्रियताको लागि सीमानाको रक्षक बन्न सक्दैनन्। कालापानी, लिपुलेक र लिम्पियाधुराका जल, जमिन र जंगल मासिएको ६० वर्ष बितिसकेको छ। त्यतिले मात्र नपुगेर हाम्रो जनता पनि उनीहरुको भइसकेका छन्।
१ मंसिर २०५३ साल, जतिबेला ब्यास गाउँपालिका–६ हुती स्थायी घर भएका धर्मानन्द बडु सीमा प्रहरी चौकी तिंकरमा कार्यरत थिए, यतिबेला नेपालका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल कालपानीको भ्रमणमा आएका थिए। त्यतिबेला उनी सभामुख थिए।
छाङरुस्थित गागामा प्रहरी सई शेरसिंह कार्कीको नेतृत्वमा २३ प्रहरी खटिएको थियो। कालापानी भ्रमण हुने खबर सञ्चार अपरेटर किशोर कुँवरबाट कार्तिकको अन्तिम साता प्राप्त गरेपछि अन्य प्रहरी सुरक्षाकर्मीसँगै धर्मानन्द पनि ड्युटीमा खटिएका थिए। जिल्ला प्रहरी कार्यालयको आदेश थियो, सभामुख आउने भएकाले सीमानामा गएर दुरस्त हालतमा बस्नु।
‘सभामुख आउने भएपछि हामीलाई लागेको थियो, सायद कालापानीको समस्या हल भइहाल्छ कि? हामी हस्याङफस्याँङ गर्दै १ मंसिरका दिन बिहानै ५ बजे उठेर एक हवल्दार बराबर ४ जना सिपाही युनिफर्मसहित स्थानीय प्रतिनिधिलाई बोकेर कालापानीतर्फ लागेका थियौं,’ धर्मानन्द भन्छन्, ‘हामी अघिल्लो दिन आलु उसिनेर महाकाली नदीको तिरैतीर ४ घण्टाको पैदल यात्रापछि कालापानी सीमाना पुगेका थियौं।’
यतिबेला भारतीय सेनाले नेपाल प्रहरी हतियारसहित युनिफर्ममा आएको कुरा थाहा नपाओस् भन्ने उदयेश्यले करिब ३०० सय मिटरको दुरी अगाडि उनीहरु एउटा ओडारमा बसेका थिए।
‘माथि डाँडामा पुगिसकेपछि लोकेसन अवलोकनका लागि सईसाप शेरसिंह कार्कीले मलाई खटाउनुभयो,’ उनले भने, ‘म एक्लै अगाडि बढेर लोकेशन सर्च गर्दै थिए, पारी भारतीय सेनाको सेन्ट्रीले देखिहाल्यो। र, मलाई आफू भएतर्फ आउन इसारा गर्दै हात उठाएर संकेत गर्यो। म पनि हात उठाउँदै उ भएतर्फ लागेँ।’
यतिबेला भारतीय सेनाले आफूसँग केरकार गरेको उनलाई आज जस्तै लाग्छ। ‘को हौ तिमी ? यहाँ किन आएको?’ भारतीय सेनाले आफूलाई गरेको केरकारको विषयमा जानकारी दिँदै धर्मानन्द भन्छन्, ‘मैले आफू प्रहरी भएको र सभामुख यहाँ आउने कार्यक्रम भएको हुनाले ड्युटीमा खटिएको बताए।’
उनको कुरा सुनेपछि उति नै बेला भारतीय सेनाले आफ्नो सञ्चार सेटबाट हाकिमलाई हिन्दीमा सबै अवगत गरायो।
एकछिनको भलाकुसारीपछि भित्रबाट आदेश आयो, ‘उसको अन्दर भेजो।’
नभन्दै अर्को सैनिक आएर उनलाई भित्र लगे। यतिबेला धर्मानन्दलाई लागेको रहेछ, आफू भारतीय सेनाको फन्दामा परेको त होइन। उनी भारतीय सेनाको नियन्त्रणमा रहेको कुरा टिमका अन्य साथीहरुलाई थाहा थिएन।
‘भित्र क्यान्टिनमा लग्यो, जहाँ सुबेदार मेजर बसेका थिए। त्यही बेला पिथैरागढबाट उसको सञ्चार सेटमा खबर आयो–लखनउबाट डिआइजी आउँदैछन्। तपाईं तैनाथ भएर बस्नुहोला,’ धर्मानन्दले सञ्चार सेटमा सुनेको कुरा बताए।
सुबेदार मेजरसँग कुरा भएको १५ मिनेटपछि एउटा हेली त्यहाँ आएर रोकियो। जसबाट एकजना मोटो–अग्लो मान्छे झरेँ।
‘मलाई त्यतिबेला छोडिसकेका थिए। हामी माथि डाँडाबाट हेरिरहेका थियौं। हामी भएतर्फ हेर्दै त्यो डिआइजीले इसारा गरे। अन्य साथी कोही जान मानेनन्। मलाई नै जान भने,’ उनले घटनाको फेहरिस्त सुनाए, ‘डिआईजी दार्जीलिङ निवासी रहेछन्। उनले मलाई भने– अहिले तिमी जाउ, अबको १० मिनटमा तिम्रो सभामुख आउँदैछन्।’
भारतीय डिआईजीको कुरा सुनेपछि धर्मानन्द पुन: फर्किए। ‘नभन्दै एक्कै छिनमा रातो रङको नेपाली हेलिकोप्टर उडेर आयो, तर बस्न नसकेर फर्कियो,’ उनले भने, ‘पछि थाहा पाउँदा उनी छाङरुमा ओर्लेका रैछन्। हेलिकप्टर फेरि आयो र कालापानीको हेलिप्याडमा ल्याण्ड गर्यो।’
यी सबै घटना धर्मानन्दहरुले डाँडाबाट हेरिरहेका थिए। ‘सभामुख रामचन्द्रसहित नेपाल प्रहरीका अधिकारीलाई देखेपछि सबै कालापानी क्याम्प गयौं,’ उनले भने, ‘भारतका तिनै डिआईजीले सर्वप्रथम सभामुख रामचन्द्र पौडेललाई कालापानीस्थित मन्दिर परिक्रमा गराए। भित्र भजनकीर्तन चलिरहेको थियो। पुजारीबाट टिकाग्रहण गरेपछि सभामुखसहितको टोलीलाई सेनाले आफ्नो गेस्टहाउसमा लग्यो।’
कालापानीमा भारतीय सेनाको गेस्टहाउस अन्डरग्राउण्डमा बनेको छ। ‘टनेलभित्र आधा घण्टा कुराकानी गरेपछि सभामुख पौडेल बाहिर निस्किनु भयो,’ उनले भने। नेपाली हेलिकप्टरबाट झरेर कालापानीमा रहेको भारतीय सेनाको क्याम्पभित्र प्रवेश गरेका सभामुख पौडेल बाहिर निस्किएपछि केही नबोली फर्किए।
सभामुख पौडेल भित्र प्रवेश गर्दा सुरक्षाकर्मी बाहिर बसेका थिए। ‘मलाई त्यो घटनापछि पहिलोपल्ट लाग्यो, केही हुनेवाला छैन,’ उनले भने। भारतीय सेनाले बनाएको छाउनीबाट बिदा लिँदै छाङरु फर्किएका सभामुखले स्थानीयसँग पनि कुराकानी गरेका थिए।
त्यतिबेला स्थानीय प्रतिनिधि लगायत जितसिंह बोहराले भनेका थिए, ‘नेपालको सीमाना लिम्पियाधुरासम्म हो।’ यतिबेला सभामुख पौडेलले कुनै प्रतिक्रिया दिएनन्। मध्यान्न भइसकेकोले गर्दा उनले मसिनो स्वरमा भने, ‘ल ल ढिला भइसक्यो। अब जाउँ।’
सभामुख पौडेल काठमाडौं पुगेपछि यहाँका जनताले आशा गरेका थिए, उनले अब संसद्मा लिम्पियाधुराको मुद्दालाई उठाउन सहजीकरण गर्लान्। तर उनले संसदमा त टाढाको कुरा, पत्रपत्रिकामा पनि कुनै प्रतिक्रिया जनाएनन्। यसले यहाँका सबै जनताको मन दु:खेको थियो। तर अहिले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो देशको अभिन्न अंग भएको भन्दै चुच्चे नक्सा जारी गरिसकेको छ। अब यो नक्साको रक्षा गर्ने दायित्व तत्कालीन सभामुख रामचन्द्र पौडेलको काँधमा आइपुगेको छ। यतिबेला भारतबाट नेपाली भूभाग फिर्ता गर्ने अभियानमा उनको भूमिका सकारात्मक होला भन्ने यहाँका जनताले ठानेका छन्। तर, के त्यो सोचेजति सहज होला?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।