कोही बेच्दा गण्डकी घाट, कोही बेच्दानछन् कोशी
देश बनाउने नेता भन्या, क्यान हुन्छन् दोषी।।
बिहीबार देउडा लोकसाहित्यमाथि चर्चा गरिएको एक कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले देउडा र राजनीतिको सम्बन्ध जोड्दै भाका सुनाए। एमाले नेता रावलले राजनीति र नेतामाथि व्यङ्य गरिएको देउडा गीतको भाका र अर्थ जोड्दै संस्कृति मान्छेको जीवन भएको बताए।
‘सस्कृतिमा देश बोल्छ, समाज बाँच्छ, जीवन चल्छ,’ देउडा लोकसाहित्यको चर्चा गर्दै रावलले भने, ‘यदी समाज देश कमजोर बनाउनुछ भने उसको संस्कृतिमाथि प्रहार गरिन्छ। त्यस कारण देउडा कर्णाली र सुदूरपश्चिमको जीवन भएकाले यसलाई बचाइराख्नुपर्छ।’
’देउडा लोकसाहित्य : विमर्श गोष्ठी शीर्षक’ नाम दिएर २०८९ सालको अन्तिम दिन ३० चैतमा काठमाडौंमा देउडामाथि प्राज्ञिक छलफल भयो। देउडा सुनाउँदै सुदूरपश्चिम र कर्णालीका केही नेता, प्राज्ञ, देउडाका सर्जक, गायकले देउडाको बहुआयामिक विषयमा चर्चा गरे।
मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा भाषा र लवजमा देउडा गीत सुसेल्दै देउडाका सामाजिक, सांस्कृतिक, राजनीतिक पाटोमाथि चर्चा गर्दा सहभागी रमाएका थिए।
वरिष्ठ लोक गायक नन्दकृष्ण जोशीले लेखन, अभिव्यक्ति र खेलको संयोजन रहेको देउडा गीत उत्कृष्ट सिर्जनाका रुपमा रहेको बताए। ‘देउडा यस्तो सिर्जना हो, जुन लेख्दा साहित्य, बोल्दा गीत र खेल्दा नाच हुन्छ। यी तिनै कुराको संयोजन भएको साहित्यिक वैभव संसारमै छैन’, उनले भने।
पश्चिम नेपालमा कला संस्कृतिको इतिहास हेर्ने हो भने देउडा गीत पहिलो स्थानमा रहेको छ। माया, रोदन, आँसु, बेदना र दुःख पोख्ने देउडा गीतको विगत र वर्तमान, देउडा गीतका प्रकार, देउडाको इतिहासका विषयमा गोष्ठीमा छलफल भएको थियो।
गोष्ठीमा ‘सामाजिक रुपान्त्रणमा देउडा र मानशास्त्रीय, समाजशास्त्रीय दृष्टिकोणमा देउडा’ विषयमा दुईवटा कार्यपत्र पेस गरिएका थिए। समाजिक रुपान्त्रणमा देउडा विषयको कार्यपत्र पेस गर्दै प्रा डा बर्दी शर्मा बिनाडीले सामाजिक रुपान्तरणका लागि देउडाले महत्वपूर्ण भूमिका खेलेको केही उदाहरण पेस गरेका थिए।
जाडिले मरेइन हो कि ओराडको कोडी
आइजा सुवा माया भया लुवा साङ्ला तोडी।।
यो गीतले तत्कालीन अवस्थामा कुष्ठरोगीमाथि गरेको विभेद र तत्कालीन समाजको चेतना, व्यवहार र कारुणिक यथार्थतालाई संकेत गरेको देखिन्छ।
क्या भनी बहुदल आयो क्या भनि गणतन्त्र
राजनीतिक दलका नेता भैग्या परतन्त्र।।
यो गीतका माध्यमबाट दलहरुले विदेशीको इसारामा काम गरिरहेका जनधारणा समेटी तिनका कार्यशैलीप्रति आफ्ना असहमति र असन्तुष्टि पोखिएको छ। डा बिनाडीले देउडा समाजिक विभेद, महिलाका सवाल, राजनीतिसहित समाजका सबै विषयसँग गाँसिएको बताए।
‘सामाजिक रुपान्तरणमा देउडा’ कार्यपत्र पेस गर्दै प्रा डा पदम कोलौनीले समाजमा देखिएका असन्तुष्टि, परिवर्तनका चाहना गीतमा व्यक्त गरिएका केही उदाहरण पेस गरेका थिए।
लेखाजोखा केही हुँदैन, पसिना सीपको
गरिबका दिन छैनन, कहिले होला निको
संविधानले रोजगारीको ग्यारेन्टी गरे पनि, कानुन निर्माण भए पनि काम नपाएको र काम पाए पनि सीप अनुसारको ज्याला नपाएको विषय गीतमार्फत् व्यक्त गरिने भावना पनि कार्यपत्रमा समेटिएको थियो।
दुईवटा कार्यपत्र पेस भएपछि देउडामय संवाद सुरु भयो। संवादका वक्ता थिए सांसद दयाल बहादुर शाही, प्राडा जिबेन्द्र देव गिरी, प्राज्ञ तथा गायक यज्ञराज उपाध्याय, प्रा दिब्बेश्वरी जोशी। त्यसलाई सहजीकरण गरेका थिए पत्रकार गोविन्द खड्काले। देउडाको बहुआयामिक पाटो शीर्षक देउडाको उत्खनन्, त्यसको इतिहास, समाज र राजनीतिमा देउडा विषयमा छलफल भएको थियो।
सांसद दयालबहादुर शाहीले राजनीतिक परिवर्तन र राजनीतिमाथि व्यङ्ग्य प्रशार गर्नेमा सबैभन्दा चोटिलो साहित्य देउडा भएको दाबी गरे।
कोइ कोइ गया मालाखेती, कोइ गया धनगढी
भीमदक्त मर्नाले होकि, ठालूको मनपरी
कित थातथलो छोड कि हलोजोत।।
यो गीत सहिद भीमदत्त मारिएपछि जन्मिएको उदाहरण पेस गर्दै सांसद शाहीले समय अनुसार देउडा साहित्य त्यही तरिकाले जन्मिने गरेको बताए। यज्ञराज उपाध्यायले छलफललाई देउडा मय बनाउँदै न्याउला खेलबाटै देउडा जन्मिएको प्रष्ट पारे।
अहिले त देउडा भाषाको गीत भनेर सञ्चारमाध्यमबाट प्रसारण/प्रकाशन हुन थाले तर, देउडा र न्याउल्या फरक भएको उनले बताए। देउडा ‘देवता’ शब्दबाट आएको र ‘देवता’ देवडा हुँदै देउडा हुन गएको उनको तर्क थियो।
प्राडा जिबेन्द्रदेव गिरीले देउडा लोकसाहित्यको सबैभन्दा पुरानो साहित्य भएको बताए। लोकले आफैं राखेका नाम देउडालाई अब बदल्न नसकिने तर चिन्तन र वस्तुगत धारबाट यसको नामकरण गर्नुपर्ने राय राखे।
प्रा दिब्बेश्वरी जोशीले देउडा मध्य तथा सुदूरपश्चिमका महिलाको कठिन जीवनशैलीको प्रतिबिम्ब भएको बताइन्। उनले देउडाको इतिहासमा भाकाको प्रयोजन विरह पोख्नु मात्रै नभई विरोध गर्नु पनि रहेको बताइन्।
कार्यक्रम देउडाको बहुआयामिक पाटोका विषयमा अनुसन्धान गर्न नेपाल आएका युनिभरर्सिटी अफ क्रिएटिभ आर्ट युकेका प्राध्यापक डा साइमन डान्सीको पनि सहभागिता थियो। अन्तर्राष्ट्रियस्तरमा साहित्यको खोज अनुसन्धान गर्दै आएका प्राध्यापक डा साइमोनले भाषा संस्कृतिले समाजलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको अध्ययनका लागि आफू उत्साहित रहेको बताए।
मध्य तथा सुदूरपश्चिममा प्रायः सबैको जिब्रोमा देउडा गीत झुन्डिएर रहेको हुन्छ। मानसखण्ड अन्तर्गतमा (बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, मुगु, जुम्ला, दैलख, कालिकोट, जुम्ला) खस राज्यको उत्पत्तिसँगै देउडा गीतको उत्पत्ति भएको मानिन्छ। देउडा लोकप्रिय, कर्णप्रिय, लयात्मक र गेयात्मक अभिव्यक्ति हो। स्थानीय जनताले खस राजालाई आफ्ना दुख, पिडा, वेदना लयात्मक रुपमा पोख्दा पोख्दै देउडा जन्मिएको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।