काठमाडौं- नेकपा एमालेका सचिव लेखराज भट्टले आफू माओवादी केन्द्रमा फर्किने सम्भावना अहिलेलाई नरहेको बताएका छन्।
आइतबार भट्टले धनगढीको गेटास्थित आफ्नो निवासमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरेका थिए। उनीहरुबीच अहिलेको राजनीतिक विषयमा केन्द्रित भएर छलफल भएको बताए।
प्रचण्डको भट्ट निवासमा भएको आगमनलाई लिएर उनलाई पुरानै घर (माओवादी केन्द्र) फर्काउने सम्भावनाका विषयमा पत्रकारले सोधेको प्रश्नमा भने भट्टले अस्वीकार गरे।
'पुरानै घरमा फर्काउने अलग विषय हो। त्यसमा अहिले कुनै छलफल भएन। त्यो अहिले सम्भावना छैन', भट्टले भने।
भट्टले प्रचण्ड यता (धनगढी) आउँदै गर्दा सन्चो-बिसन्चो कस्तो छ? चिया खाएर जान्छु भनेको बताए। 'उहाँको पनि घर हो। मैले स्वागत गर्नु स्वभाविक हो', उनले भने।
भट्टले आफूहरुबीचको सम्बन्ध सामान्य नभएको बताए। उनले चालीस वर्षदेखिको सम्बन्ध भएको र पारिवारिक रहेको बताए।
प्रचण्डले पनि भट्टसँग देशको स्थितिको विषयमा सामान्य र राजनीतिक कुराकानी भएको बताए। उनले खासै अजेन्डाको रुपमा छलफल नभएको पनि बताए।
प्रचण्डले भट्टको घरलाई आफ्नो पनि घर भएको बताएका थिए। 'यहाँ मेरो एउटा कोठा छ सधैँ आएर बस्ने। मेरो झन्डै चालीस वर्षदेखिको सम्बन्ध हो यो घरसँग', उनले भनेका थिए
उनीहरु लामो समयदेखि निकट र एउटै पार्टीमा थिए। तर, तत्कालीन नेकपाको विभाजनपछि भट्ट एमालेमै बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।