काठमाडौं– ललितपुरको पाटन संयुक्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वनचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन्।
शनिबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्।
विष्टले ८४१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश जिसीले ६७२ मत ल्याए। त्यस्तै नेविसंघका आधिकारिक उम्मेदवार युवराज थिङले ३६४ मतमा चित्त बुझाउनु पर्यो।
नेविसंघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले सुरूमा विष्टलाई टिकट दिएको भए पनि पछि थिङलाई स्ववियु सभापतिको आधिकारिक उम्मेदवारको टिकट दिएका थिए। विष्टले शेर्पाको निर्णयविरूद्व स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
पाटन क्याम्पसमा गत चैत ५ गते विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको थियो। उच्च अदालत पाटनको आदेश अनुसार उक्त क्याम्समा शनिबार निर्वाचन भएको थियो।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।