काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीलाई नेपालकै पहिलो महिला राष्ट्रपति बनाएर गर्व गर्न लायक काम गरेको बताएका छन्।
शनिबार काठमाडौंमा सुरु भएको अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्। उनले पार्टीमा आबद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले बलियो शक्तिका रुपमा रहन सकेको बताए।
उनले भने, ‘अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको छ।’ साथै उनले एमाले पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन्।
अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टी भन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताए। एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासंघलाई उनले धन्यवाद पनि दिए।
उक्त अवसरमा उनले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशनसमेत दिए। एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए। पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।