काठमाडौं– नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले सरकारले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रम सत्तारुढ दश दलको मात्रै भएको बताएका हुन्।
उनले एमाले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको र एमालेको हस्ताक्षर नभएको भन्दै त्यसलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्न नमिल्ने बताए। उनले कार्यक्रममा सबैका घोषणापत्रबाट राम्रा राम्रा कुरा झिकेर राखिएको भन्दै सरकारको प्राथमिकताको विषय मूर्त रुपमा आउन नसकेको टिप्पणी गरे।
त्यस्तै, एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीले सय दिनको बीचमा दुईवटा साझा न्यूनतम कार्यक्रम जारी गर्नु रमाइलो कुरा भएको टिप्पणी गरे। साझा कार्यक्रम कार्यान्वयन गर्नका लागि नभई सार्वजनिक खपतका लागि ल्याइएको उनको टिप्पणी छ।
‘अघिल्लो न्यूनतम साझा कार्यक्रम पनि प्रधानमन्त्रीको कार्यान्वयन गर्ने उद्देश्यका साथ आएको थिएन भन्ने उहाँको व्यवहारले देखियो। त्यसकारण अहिले पनि यो कुनै कार्यान्वयन गर्ने उद्देश्यका लागि नभएर केवल बाहिर सार्वजनिक खपतका लागि व्यक्त गरिएको, कार्यान्वयन गर्ने उद्देश्य नभएको रुपमा मैले यसलाई लिएको छु’, गैरेले भने।
उनले सरकारको मुख्य ध्यान जनताको काम गर्ने भन्दापनि मन्त्रालय बाँडफाँट र सत्ताको लेनदेनमा सीमित रहेको कटाक्ष गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।