काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले उक्त आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा अभिव्यक्त गरेका धारणाहरूलाई एक ठाउँमा राखेर हेरेमा निर्देशन र घोषणाहरू मात्र रहेकोले उक्त तरिकाबाट शासकीय सुधार नहुने थापाको ठहर छ।
‘प्रधानमन्त्रीले बोलेको कुरालाई हामीले एक ठाउँ राखेर हेर्यौं भने वैदेशिक रोजगारीमा रहेकालाई दु:ख नदिने, एकल अंक ब्याजदर झार्ने, राजश्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्ने, यस्तै छन्। हामीले घोषणाहरू हेर्यौं भने दलितहरूले सयौं वर्षसम्म सम्झिने कार्यक्रम लिएर आउने, गोरखकाली रबर उद्योग चलाउने, शिक्षा क्षेत्रमा एउटा प्याकेज ल्याएर यसलाई सुदृढ बनाउने भन्ने छन्,’ थापाले भने,‘निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री मुक्त हुनुपर्छ।’
थापाले समस्याहरूको गहिराइमा पुगेर मात्र समाधान गर्न सकिने भएकाले निर्देशन र घोषणाहरू अलपत्र हुन सक्ने औंल्याएका छन्।
‘निर्देशन नदिएका कारण शासकीय परिणामहरू नआएका हैनन्। समस्याको चुरो कुरामा, गाँठोमा पुगिएन भने निर्देशनहरू अलपत्र मात्र हुन्छन्। कुनै बेला मैले दिएका निर्देशन सम्झाउनु होस् भन्ने दिन आउन सक्छ,’ थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।