काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले बिहीबार ल्याएको न्यूनतम साझा कार्यक्रम निरस र निबन्धजस्तो भएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम केही समय अघि आएको र अहिले पनि आएकोले यसमा निष्पक्ष भएर टिप्पणी गर्नुपर्ने भन्दै यसलाई संसद्मै प्रस्तुत गर्नुपर्नेमा नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे।
उनले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले टिम बनाउने र त्यो नै महत्त्वपूर्ण हुने भन्दै नेपालमा त्यो नहुने दाबी गरे। उनले अहिले प्रधानमन्त्री कार्यालयमा रहने टिम सजाय पाएका व्यक्तिहरु मात्र हुने भएकाले रिजल्ट आउने देखिएको दाबी गरे।
थापाले भारत, अमेरिका र बेलायतजस्ता देशहरुमा प्रधानमन्त्रीले टिम बनाएर काम गर्ने तर, नेपालमा त्यो हुन नसकेको टिप्पणी गरे। उनले नयाँ सरकारले उत्साह दिनुपर्नेमा निरासा दिएको बताए।
थापाले सबैको भरोसा टुटेको जस्तो देखिएको भन्दै प्रधानमन्त्रीले अब ६ महिनाको समय छ भनेर प्रस्तुत हुनुपर्ने बताए। उनले संसद्मा आएर केही कार्यक्रम गरेँ भनेर भन्न सक्नुपर्ने बताए।
उनले सिङ्गो संसद्ले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्दै कर्मचारी संयन्त्र सुधार गर्ने, मिटरब्याज र मानव तस्करी जस्ता दण्डहिनता अन्त्य गर्ने कार्यमा निडर रुपमा काम गर्न आग्रह गरे।
सांसद थापाले ‘एक दिन, एक परिणाम’ ल्याउने गरि सरकारले काम गर्नुपर्ने भन्दै सबै क्षेत्र धरासायी भएकाले धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।