भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएको भन्दै भैरहवाका संघ-संस्था आन्दोलित भएका छन्। शुक्रबार विमानस्थलको प्रवेशद्वार अगाडि २ घण्टा धर्ना तथा विरोध सभा कार्यक्रम आयोजना गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै भैरहवाका ४४ वटा संघ-संस्थाका प्रतिनिधिले सहभागिता जनाएका छन्। उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले विमानस्थल पूर्ण रुपमा सञ्चालन नभएसम्म आन्दोलनका कार्यक्रम चलिरहने बताए। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल तयार भए पनि पूर्ण रुपमा सञ्चालनमा नआउनु गम्भीर विषय भएकोले आफूहरु विरोधमा उत्रिएको बताए।
२०७१ गत माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल गत जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। विमानस्थललाई नै मध्यनजर गरेर रुपन्देहीमा होटल क्षेत्रमा अर्बौं लगानी भएको तर सरकार गम्भीर नहुँदा लगानी जोखिममा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले बताए।
पर्यटन व्यवसायी सागर अधिकारीले कर्मचारी गम्भीर भए विमानस्थल चलाउन कुनै किसिमको अवरोध नरहेको बताए।
गौतमबुद्ध विमानस्थलमा पूर्ण रुपमा सञ्चालनमा आएपछि सबैभन्दा धेरै लाभ गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई हुने व्यवसायीको बुझाइ छ। विमानस्थल पूर्ण रुपमा सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन्। विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।