फाइल तस्बिर।
काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सांसदहरूले संसद्मा कुरा उठाउने तर, मन्त्री र सरकारको ध्यानाकर्षण नहुने भएकोले रलिङ गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयअघि बोल्दै उनले जनताका कुरा संसद्मा उठाउने तर, सरकारले जवाफ नदिने हुँदा सम्बोधन हुन नसकेको बताए।
‘पहिला–पहिला सभामुखको दायाँबायाँ सांसदहरूले राखेको नोट गर्ने गरिन्थ्यो। कर्मचारीहरूले टिपेको कुरा मन्त्रीसमक्ष पुर्याउने काम हुन्थ्यो। अनि, सम्बोधन हुन्थ्यो’, उनले भने, ‘तर, अहिले त्यो चलन हराएको छ। १९ वटा बैठक हुँदा पनि सरकारको ध्यान हामीले आर्कषण गर्न सकेनौं।’
उनले किन यस्तो भइरहेको छ भनी प्रश्न गरिरहँदा सभामुख देवराज घिमिरले नियमावलीको व्यवस्थाप्रति ध्यानाकर्षण गराए। सभामुखको ध्यानार्षणमा जवाफ दिँदै सांसद पाण्डेले यो हिजो र आजकै कुरा भएको दाबी गरे।
उक्त समयमा समसामयिक विषय उठाउन पाउने सहमति यसअघि भएको थियो। पाण्डेले आफूले त्यही विषयमा उठाएको बताए। उनले हिजो पनि मन्त्रीले जवाफ नदिएको र आज पनि जवाफ नदिएको भन्दै यो विषयमा सभामुखबाट रलिङ गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।