काठमाडौं– वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार)देखि आचारसंहिता लागु भएको छ।
वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ। रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ र रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुन लागेको हो।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।
आयोगले उपनिर्वाचन हुन लागेका तनहुँ, चितवन र बारा जिल्लामा आचारसंहिता लागु हुने जनाएको छ।
आयोगले संघ तथा प्रदेश सरकारमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्य लगायतका लागि निर्वाचन आचारसंहिता लागु हुने जनाएको छ।
आयोगले आचार संहिता लागू गरेपछि सरकारले नियुक्ति, बढुवा लगायत महत्वपूर्ण कार्य गर्न समेत पाउने छैन।
जसलाई लाग्छ आचार संहिता:
(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
(ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
(घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य,
(च) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
(छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
(ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
(ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
(ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
(ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
(थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
(द) मतदाता,
(ध) विकास साझेदार संस्था,
(न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
(प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
(फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
(ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।