काठमाडौं– काठमाडौं महानगरपालिकाले रातिको समयमा सार्वजनिक स्थानमा फोहोर फाल्ने गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
बुधबार राति डिउटीमा बसेको महानगर प्रहरीले रातिको समयमा फोहोर ल्याएर सार्वजनिक स्थानमा फाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
शमशेर तिमिल्सिनाको नाममा रहेको बा ४ च ३३४ नम्बरको गाडीलाई फोहोर फाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उक्त गाडीलाई १५ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको महानगरपालिकाले जानकारी दिएको छ।
बुधबार मध्यराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित कुलेश्वर क्षेत्रको सार्वजनिक स्थानमा उक्त गाडीले फोहोर फाल्दै गरेको थियो। सोही अवस्थामा देखेपछि महानगरपालिकाको नगरप्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको हो।
![fohor (2)1680792711.jpg](https://nepallive.net/uploads/posts/fohor (2)1680792711.jpg)
काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्ने व्यक्ति तथा कम्पनीहरुलाई कारबाही गर्दै आएको छ। महानगरपालिकाको फोहोर लैजाने गाडी आएमा मात्र फोहोर बाहिर निकाल्न महानगरपालिकाले अनुरोधसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।