काठमाडौं- प्रतिनिधि सभामा औपचारिक रुपमा 'आकस्मिक समय' सुरु भएको छ। यसअघि अनौपचारिक रुपमा 'ढ्यापढ्यापे समय' भनेर चिनिने सो समयलाई प्रतिनिधि सभा नियमावली, २०७९ मा आकस्मिक समयको रुपमा परिभाषित गरिएको छ।
बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयका लागि तीन मिनेटको समय छुट्याएका थिए। आकस्मिक समयमा रास्वपाका हरि ढकाल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सम्बोधन गरेका थिए।
अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिका घटना वा विषयका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्ने नियमावलीमा व्यवस्था गरिएको छ।
आफ्नो सम्बोधनमा ढकालले संस्थागत भ्रष्टाचारको कुरा राखेका थिए। सुवालले राजनीतिमा बिचौलिया र माफियाको प्रभावको विषय राखेका थिए। शाहीले वैदेशिक ऋण बढेको र ऋण लिएर प्रदेश संरचना सञ्चालन गर्नुपरेको भन्ने लगायतका विषय राखेका थिए। सांसदहरुले राखेका विषयवस्तुप्रति भने माओवादी केन्द्रका प्रमुख हितराज पाण्डेले नियमापत्ति गरेका थिए।
'माननीयहरुले अहिले राखेका विषयवस्तु के आकस्मिक विषयसँग सम्बन्धित छ? हामी नियमावली (को प्रयोग) आजै सुरु गर्दैछौँ। आजै सुरु गरेको विषयवस्तु नियमावलीसम्मत छैन भन्ने नियमापत्ति राख्न चाहन्छु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।