काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन यही चैत २८ र २९ गते हुँदैछ। निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरूमाझ चुनावी सरगर्मी बढेको छ।
निर्वाचन नजिकिएसँगै व्यवसायीहरूले प्यानल बनाएर उम्मेदवारी दर्ता गरिसकेका छन्। निर्वाचन जित्नका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार टिम बनाएर उम्मेदवार तानातानमा व्यस्त छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ। वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुँदैछन्। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिएको छ।
वरिष्ठ उपाध्यक्ष पदका लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन्। जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन्।
वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ। तर, भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेदवार बनेका छन्। मंगलबार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ। अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुनेछ। ज्योत्स्ना दुई दिनअघि अञ्जनको टीमलाई छोडेर संघाईको टीममा पुगेकी थिइन्।
वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरूले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरूको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रविद्धतता जनाए भन्ने कुरा सबै व्यवसायीहरूको चासोको विषय छ। व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिवद्धता उनीहरूको छ।
आइतवार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार मुल नारासहित वरिष्ठ उपाध्यक्षका उम्मेदवारी घोषणा गरे। उनले उद्योगी व्यवसायीहरूका समस्याको समाधान गरी व्यवसायीहरूको हकहितमा निरन्तर लाग्ने अठोटसहित उम्मेदवारी दिएको बताए। उनले महासंघको संगठनात्मक सुधार र समन्वय गर्ने प्रतिवद्धता जनाए।
उनले महासंघलाई थप प्रविधिमैत्री बनाउने, उद्योगी व्यवसायीहरको गुनासो समस्या बुझ्ने हेल्प डेस्क र हटलाइन व्यवस्थित बनाउने, प्रदेश च्याप्टरहरूको भूमिका थप बढाउने, केन्द्र, प्रदेश, जिल्ला नगर समन्वय बढाउने, देशभर महासंघको आफ्नै भवन बनाउने प्रतिवद्धता जनाए। उनले कानुन तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए।
त्यस्तै, सोमबार वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र मुल नारासहित उम्मेदवारी घोषणा गरेका छन्। उनले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरूको हितमा काम गर्ने प्रतिवद्धता जनाए।
उनले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाए। उनले उद्योग वाणिज्य महासंघमा फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरूका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उठेको स्पष्ट पारे।
उम्मेदवार श्रेष्ठले बिनाशर्त व्यवसायीका समस्या समाधान गर्न लागिपर्ने बताए। महासंघबाट सरकारलाई पत्र बुझाउँदा पत्र वाचन गर्ने अध्यक्ष मात्रै नबन्ने प्रतिबद्धता जनाए।
उनले महासंघको वरिष्ठ उपाध्यक्ष जिताएर पठाए कसैको कठपुतली नहुने तर, उद्योगी व्यवसायीहरूको कठपुतली बन्न तयार रहेको उल्लेख गरे। उनले उद्योगी व्यवसायीहरूको सबैभन्दा ठूलो छाता संगठन महासंघ सुदृढ र संगठित महासंघ पाउन नसकेको भन्दै अब आफूले बनाउने प्रतिबद्धता जनाए।
अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायीहरू माझ प्रतिवद्धता सार्वजनिक गरेका छैनन्। तर, श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी भने दर्ता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।