काठमाडौं – इलेक्टिक चुरोट (भेप) तस्करी गरेको आरोपका दुई जनाविरुद्ध साढे चार करोड रुपैयाँ भन्दा बढीको मुद्दा दायर भएको छ।
मुस्ताङ भन्सार कार्यालयका कार्यालय सहयोगी टासी नुर्वु गुरुङ र घ्याचे गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागको कार्यालय हरिहर भवनले मुद्दा दायर गरेको हो।
उनीहरुविरुद्ध ४ करोड ६६ हजार १२ लाख ४६ रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन्।
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित कसुर गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
यसका साथै बिगोको शतप्रतिशत जरिवाना, भेप समेत जफत गर्नुपर्ने र दफा २३ (१) (ख) बमोजिम कैद समेत मागदाबी गरिएको छ भने भेप ढुवानीमा प्रयोग भएको ग १ ख ६९९९ नम्बरको गाडी समेत जतफका लागि मागदाबी गरिएको छ ।
मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउने क्रममा घ्याचेलाई प्रहरीले पक्राउ गरेको थियो। भन्सार छलेर भेप छिराउने काममा कार्यालय सहयोगी टासीले घ्याचेलाई सहयोग गरेको आरोप छ। सूचनाको आधारमा मुस्ताङ प्रहरीले १९ हजार थान भेपसहित घ्याचे गुरुङलाई पक्राउ गरेको थियो।
एक समूहले ९५ कार्टुन भेप रसुवा नाकाबाट नेपाल भित्र्याउन खोजेको थियो। तर २० दिनसम्म होल्ड हुँदा समेत रसुवा नाकाबाट उक्त भेप नेपाल भित्र्याउन सम्भव नभएपछि उक्त समूहले मुस्ताङको कोरला नाकाबाट भेप भित्र्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।