काठमाडौं– केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा पुन: वृद्धि हुन थालेको छ। शून्यमा झरेको कोरोना संक्रमणको अवस्था विस्तारै बढ्दो छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र देशभरमा ७६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। यसका साथै अहिले नेपालमा अति संक्रामक भेरियन्ट ओमिक्रोनका ९ वटा सवभेरियन्ट सक्रिय रहेको पाइएको छ। जसमध्ये पनि पछिल्लोपटक भेटिएको एक्सबीबी.१.१६ सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चैत्र महिनामा संकलन गरिएका २४ वटा नमुनाको सिक्वेन्सिङ गर्दा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ। साथै अहिले भारतमा फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सवभेरियन्ट रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ।
मन्त्रालयले सचेत रहन अनुरोध गरेको छ। अहिले भेटिएका भेरियन्टहरु अतिसंक्रामक रहेकाले सचेतनाका साथै भ्याक्सिन लगाउने अभियानलाई पनि तीव्रता दिनुपर्ने बताएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।