काठमाडौं– नेपाल विद्यार्थी संघ(नेविसंघ)ले चितवनको रामपुर कृषि क्याम्पस खैरेनीमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ।
नेपाल विद्यार्थी संघले सोमबार त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई ध्यानाकर्षण गराउँदै फेरि निर्वाचन गर्न माग गरेको हो।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते घोषित स्ववियु निर्वाचन देशभरका अधिकांश शैक्षिक संस्थाहरूमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै रामपुर कृष्ण क्याम्पस, खैरहनी चितवनमा स्ववियु निर्वाचनको मिति १७ गते तय गरेको थियो।
गत १७ गते निर्वाचनको समयमा कुनै अमुख विद्यार्थी संगठन र पार्टीको नेताहरूको इसारामा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलोटी फर्जी मतदान गरी निर्वाचन सम्पन्न भएको भन्दै नेविसंघले त्यहाँ पुन: निर्वाचन गर्न माग गरेको हो।
क्याम्पसका विद्यार्थीहरूलाई मतदानमा सहभागी नगराई पार्टीका कार्यकर्ताहरूद्वारा मतदान गराइएको नेविसंघको आरोप छ। साथै उम्मेदवार विद्यार्थीहरूमाथि कुटपिट गरी निर्वाचन प्रक्रिया मै सहभागी हुन नदिएको भन्दै नेविसंघले आपत्ति जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।