काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार भएका स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन्। चितवन- २ को निर्वाचनका लागि त्यहाँ पुगेका उनले तनहुँ- १ को उम्मेदवारबारे पनि चर्चा गरेका हुन्।
‘कांग्रेसले मञ्चमा उभ्यायो। मञ्चमा उभ्याएर उहाँसँग कविता सुनाउने क्षमता रहेछ, कविता सुनाउने मञ्च दियो। उहाँ गीत गाउन सक्नुहुँदोरहेछ भनेर गीत गाउनका लागि मञ्च दियो। अनि म नाच्न पनि चाहन्छु भन्दा पालो विस्तारै आउँछ भन्दा कांग्रेसमाथि नै प्रश्न गरिराख्दा साथी कति सुसंस्कृत ढंगले राजनीति गरिराख्नुभएको छ? म गाली नगरिकन यो अभिव्यक्ति राख्न चाहन्छु’, वाग्लेप्रति शर्माको प्रश्न थियो।
महामन्त्री शर्माले शेरबहादुर देउवा र उनको श्रीमतीको पनि आलोचना गर्न पाइने बताए। तर, देउवाले नै वाग्लेलाई अवसर दिएको भन्न पनि छुटाएनन्। हिजोअस्ति भर्खर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको र आज कांग्रेसले अवसर दिएन भन्दै गरेको भन्दै वाग्लेलाई देउवाले नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको स्मरण गराए।
वाग्लेले कांग्रेस परित्याग गर्नुअघि कांग्रेसका चार जना नेताहरू शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा र गोविन्द पोखरेलाई चिठी पठाएर ‘देउवा-आरजु गिरोह’का कारण कांग्रेस छाड्ने निष्कर्षमा पुगेको आशय व्यक्त गरेका थिए।
‘कसैको पनि बौद्धिकताको अनादर म गर्दिनँ। हामीसँग रहने बित्तिकै उहाँ बौद्धिक, हामीलाई छोड्ने बित्तिकै उहाँ अबौद्धिक म भन्दिनँ’, शर्माले भने, ‘तर, बौद्धिकले पनि जनताको बीचमा जाँदै गर्दा संयमको, धीरताको, परीक्षामा पास गर्न सक्दैन भने त्यो बौद्धिकतामा प्रश्न उठ्नैपर्ने हुन्छ।’
शर्माले गोविन्द भट्टराई तनहुँको माटोले चिनेको मान्छे भएको बताए। भट्टराई तनहुँ- १ मा कांग्रेसका उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।