न्युयोर्क– १५ वर्षयता अमेरिकामा हिन्दूहरूको जनसंख्या दुई गुणाले बढेको छ। हिन्दू–अमेरिकी फाउन्डेसनका अनुसार अहिले अमेरिकामा २२ लाख हिन्दू बसोबास गरिरहेका छन्। यो संख्या २०२५ सम्म २८ लाख पुग्ने दाबी गरिएको छ।
हार्वर्ड विश्वविद्यालयको प्लुरलिज्म प्रोजेक्ट अनुसार २० वर्षअघि अमेरिकामा ४३५ वटा मन्दिर थिए, अहिले त्यो संख्या बढेर १ हजार पुगेको बताइएको छ।
मन्दिरको संख्या बढ्नुमा यहाँ आएर बसोबास गर्ने हिन्दूहरूको संख्यामा बढोत्तरी हो। अमेरिकी जनतामाझ पनि हिन्दू धर्म र संस्कृतिप्रति जिज्ञासा बढ्दो छ।
वासिङ्टन डिसीस्थित राजधानी मन्दिरका मुख्य पुजारी पण्डित राम स्नेह त्रिपाठी ५ वर्षयता स्कुलमा भर्ना भएका विद्यार्थीको संख्या २ सय प्रतिशतले बढेको बताउँछन्। हरेक साता यहाँ ६०० नयाँ बालबालिका हिन्दू कक्षामा प्रवेश लिन आउँछन्।
अमेरिकामा प्रवासी हिन्दू समुदाय सबैभन्दा शिक्षित मानिन्छन्। यसपछि यहुदी पर्छन्। सन् २००७ सम्म अमेरिकामा शून्य दशमलव ४ प्रतिशत हिन्दू जनसंख्या थियो।
यतिबेला यो संख्या बढेर शून्य दशमलव ७ प्रतिशत पुगेको छ। धार्मिक सूचांक अनुसार इसाई, मुस्लिमपछि तेस्रो नम्बरमा हिन्दू समुदायको उपस्थिति अमेरिकामा बाक्लो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।