काठमाडौं– राजीवकुमार यादव बुबासँगै खेतीपाती गर्थे। सप्तरीको बोदेबर्साइन नगरपालिका–१०, खडकपुरमा बुबा रामकुमार यादवले जोडेको ३५ कठ्ठा जमिन थियो। उक्त जमिनमा धान प्रशस्त फल्थ्यो। खान-लाउन पुगेकै थियो। एसएलसीसम्मको शिक्षा लिएका राजीवको खेतीपातीभन्दा आम्दानीको अरु बाटो भने थिएन।
‘धेरै पढ्न सकिएन। नपढेपछि राम्रो काम पाउने अवस्था थिएन। अर्काको ज्यालामजदुरी गरेर कति कमाउन सकिन्छ र? बरु खेतीपातीसँगै केही व्यवसाय गर्ने सोचेँ,’ उनी सुनाउँछन्।
व्यवसाय गरेर आम्दानी गर्ने सपना देख्न थाले राजीव। तर के व्यवसाय गर्ने भनेर सोच्दासोच्दै साथीहरूले गाईपालन गरेर मनग्य आम्दानी गर्न सकिने सुनाए।
घरमा एउटा गाई त पालेकै थियो। तर व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने मनसायले गाई फार्म खोलेर धेरै वटा गाई पाल्ने सोच बनाएका थिए। उनले अरूले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेको देखेका पनि थिए। त्यसपछि गाईपालन गरेर राम्रो आम्दानी हुने कुरा आफ्ना आमा-बुबालाई सुनाए।
‘व्यावसायिक रूपमा गाईपालन गर्न निकै लगानी चाहिन्थ्यो। फर्म दर्ता गराउन खर्च लाग्ने, उता गाई नै किन्नु पर्यो। बुबाले हुन्छ त भन्नुभएको थियो। तर पैसा कहाँबाट जुटाउने भन्ने समस्या थियो,’ उनले भने।
साथीहरूबाट गाउँका महाजन राजेन्द्रप्रसाद तेलीले जग्गा धितो राखेपछि जति पनि ऋण दिन्छन् भन्ने उनले सुनेका थिए।
‘त्यसपछि मैले बुबासँग महाजन तेलीले जग्गा धितो राखेपछि ऋण दिन्छन् रे, उनीसँग ऋण मागिदिनुस् भनें। मैले व्यवसाय गर्ने भनेपछि बुबाले नाईं भन्नु भएन। ती महाजनसँग ऋण माग्न जान तयार हुनुभयो,’ राजीवले सुनाए।
२०७३ माघ १८ गते तेलीको घरमा राजीव र उनका बुबा ऋण माग्न पुगे। बुबाले तेलीसँग नयाँ व्यवसायका लागि ऋण माग्न आएको कुरा सुनाए। कुरा सुनेपछि तेली २२ कठ्ठा जमिन आफ्नो नाममा पास गराएर (धितो राखेर) ११ लाख रूपैयाँ सयकडा १० प्रतिशत ब्याजदरले दिन राजी भए।
बुबाको सहमतिमा राजीवले २२ कठ्ठा जमिन धितो राखी ११ लाख रूपैयाँ निकाल्ने र महाजनले भनेकै ब्याजदरमा सावाँ-ब्याज २०७४ साउन मसान्तसम्म बुझाएपछि महाजन तेलीले जग्गा फिर्ता गर्ने सर्त राखी रीतपूर्वक कपाली तमसुक बनाएर सहीछाप गरे।
तेलीले ऋण दिएर उनीहरूको २२ कठ्ठा जग्गा आफ्नो नाममा पारे। ऋण पाएपछि उनको नयाँ व्यवसाय गर्ने बाटो खुल्यो। बाबुछोरा खुसी हुँदै फर्किए।
‘व्यवसाय गरेर कमाएपछि तिर्छु भन्ने उद्देश्यले जग्गा धितो राखेर ऋण लिएको हो। तर पनि मेरो खुसीको सीमा नै थिएन। ऋण नै भए पनि व्यवसाय सुरु गर्न पाउँदा निकै खुसी थिएँ,’ उनी सुनाउँछन्।
त्यसपछि राजीव भोलिपल्ट गाई फार्म दर्ता गर्न जिल्ला पशु फार्म सप्तरी पुगे। बुबा रामकुमार यादवको नाममा फार्म दर्ता गराए। नाम राखे महादेव गाई पालन फर्म।
केही दिनपछि राजीवले गाउँकै फर्मबाट प्रतिगोटा १ लाख रुपैयाँका दरले पाँच वटा कोरली गाई किनेर ल्याए।
‘गाई ल्याएर पाल्न थालेपछि दिनचर्या त्यसैमा बित्दै थियो। गाईको दूध बेचेर पैसा कमाउँला भन्ने ठूलो आसा थियो। काम पनि जाँगर चलाएर गर्थेँ,’ उनी सुनाउँछन्।
केही समयपछि तेलीले तीन जनाको नाममा २६ लाखको कपाली तमसुक गराए। आफ्नो नाममा ८ लाख, सानिमाको छोरा शिवनारायण साहको नाममा ७ लाख अनि बैजुकुमार साह (सालो) को नाममा ११ लाख रूपैयाँको कपाली तमसुक बनाए। राजीवका बाबु छोरालाई सहीछाप गराए।
‘त्यसको एक वर्षपछि महाजन तेलीले सारा कागज अदालतमा पेस गरेर मुद्दा हाले। बाँकी भएको १३ कठ्ठा जग्गा रोक्का गरिदिए। त्यसपछि महाजनले १७ लाख रूपैयाँ माग गरे। उक्त रकम मैले दिएपछि १३ कठ्ठा जग्गा फुकुवा गरिदिए,’ उनी सुनाउँछन्।
त्यतिबेला उनले पालेका गाई ब्याएर दूध दिन थालेका थिए। दिनमा ३० देखि ४० लिटर दूध बिक्री गर्थे। तर दूध बिक्री गरेर कमाएको पैसा महाजनलाई तिर्नै पुगेको थिएन।
फेरि दुई वर्षपछि जग्गा फिर्ता गर्ने सर्तमा महाजनले ७ लाख रूपैयाँ माग गरे। जग्गा फिर्ता गरिदेलान् भनेर उनले तिरे। त्यो रकम तिर्दा शिवनारायण साहुको रुपमा भर्पाइ गरेर लगे। दुई वर्षपछि फेरि शिवनारायण र राजेन्द्रप्रसाद तेलीको ७ लाख र ८ लाख भर्पाइ स्वरुप लिइएको कागज गरियो।
त्यसपछि तेलीले २५ लाख रुपैयाँ माग गरे। राजीवले गाई नै बिक्री गरेर तेलीलाई पैसा बुझाए। त्यतिबेला २४ लाख रूपैयाँ बुझाइसकेका थिए, तर तेलीले अझै १ लाख माग गरे। उनले १ लाख तिरेनन् तेलीले पनि जमिन फिर्ता गरेनन्।
‘एक लाख रुपैयाँ प्रतिगोटा किनेका गाई ५० हजार रूपैयाँमा बिक्री गरेँ। बाच्छासमेत बेचेर महाजनको रकम तिरेँ। ११ लाख रूपैयाँ लिएकोमा २४ लाख बुझाएँ। त्यसमाथि अदालतको फी पनि २२ हजार ३० रूपैयाँ मैले तिरें। त्यत्रो रकम तिरियो। मेरो अझै २२ कठ्ठा जग्गा वापस गरेको छैन,’ उनले भने।
अहिले उनी राजेन्द्रप्रसाद तेलीको नाममा रहेको खेतमा खेती गरिरहेका छन्। गत भदौ ३० गते तेलीले बाँकी भएको १ लाखको २ लाख ३८ हजार १७७ हजार रूपैयाँ हिसाब लेखेर राखे। उक्त रकम बुझाए जमिन फिर्ता गर्ने सर्त राखे।
‘त्यो पनि म तिर्न तयार छु। तर महाजनले त्यो जग्गा वापस गर्ने वाला छैन,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।