काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन्।
सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी हुन्।
उनले कतिपय सञ्चारमाध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसद्मा प्रस्तुत भएको बताइन्।
उनले प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरूमा नयाँ वातावरण सिर्जना हुने बताइन्। उनले सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन्। मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न नसकेको बताए।
‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ। त्यसलाई हामीले प्रतिनिधि सभामा पुर्याउन खोज्दैछौं। हामीले भनेका छौं। सञ्चारमाध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ। तिनीहरू भजनमण्डली हुनुहुँदैन भनेका छौं। भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसद्मा गएको छ’, उनले भनिन्, ‘त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ। आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानुनहरू जुन हाम्रो अभाव छ, ती कानुनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरूसँग छलफल गरेर गरिरहेका छौं।’
मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चारमाध्यमहरूले प्रशारण एवं प्रकाशन गर्न जरुरी रहेको पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।