काठमाडौं– वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज (सोमबार) उम्मेदवारको मनोनयन दर्ताको केही समय अगाडि मात्रै एमालेले बारा २ का लागि उम्मेदवार टुंग्याएको हो।
वैशाख १० गते बारा २ सहित चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको थियो।
बारा २ को टिकट पाएका नेता पौडेल पूर्व खेलकुदमन्त्री समेत हुन्। एमाले भित्रको विवाद उत्कर्षमा पुग्दा तत्कालीन अवस्थामा माधव नेपाललाई साथ दिएका पौडेल पार्टी विभाजनका बेला एमालेमै रहेका थिए।
बारा २ मा जसपाबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार बन्ने तय भएको छ।
उपनिर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।