काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानमा अड्न नसकेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरूको गठजोडमा आफूहरू नलाग्ने बताए। आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै उनले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए।
दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उनले इमान नभएकाहरूसँग एकता गर्न नहुने पनि उल्लेख गरे। यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उनले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दाबी समेत गरे।
ओलीले आफ्नो पार्टीले आगामी ४ वर्षभित्र राष्ट्रिय शक्तिको रुपमा उदाएर अघि बढ्ने संकल्प लिएकाले सोही अनुसारको गम्भीरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
ओलीले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।