काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।
एमालेको पक्षमा छैनौं भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू बनाएको ओलीको जिकिर थियो। उनले सत्तारुढ दलहरू दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने पनि दोहोर्याए।
आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे। दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाइ थियो।
उनले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दाबी समेत गरे।
‘एउटा नीतिमा देश चल्नु पर्छ, एउटा विचारमा देश चल्नु पर्छ। एउटा संगठनले नेतृत्व गर्नुपर्छ। दशतिर फर्केका छन्। उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ। त्यस्ताले कहाँ पुर्याउँछन् देश?’, ओलीले भने, ‘देशको रथ कता जाने। दश जनताले दशतिर तानेको छ। १० वटा पार्टीले दशतिर तानेको छ। के भन्छ? बुझेको, सुझेको केही छैन। भवितव्यमा दुई वटा सिट आयो। एमालेका विरुद्ध बोले। मन्त्री भए। जान्नुतान्नु केही पनि पर्दैन। एमालेको पक्षमा म छैन, एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ।’
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरूले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको आरोप लगाए। उनले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेकाले देशव्यापी रुपमा ग्रासरुट अभियान चलाएको स्पष्ट पारे।
आफूहरू अब गठजोडको पक्षमा नलाग्ने पनि ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।