काठमाडौं- प्रतिनिधि सभाको नियमावली, २०७९ आइतबार पारित भएको छ। मस्यौदा समितिले तयार पारेको नियमावली प्रतिवेदनमाथि परेको संशोधनका कैयौँ विषयलाई समेट्दै नियमावली पारित भएको हो।
प्रतिनिधि सभामा यसअघि अनौपचारिक शब्दावलीमा चल्दै आएको 'ढ्यापढ्यापे समय' अब औपचारिक रुपमा 'आकस्मिक समय'को रुपमा नियमावलीमा समेटिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सांसदहरुले टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराई समय लिने गरेका थिए। त्यसलाई अनौपचारिक शब्द 'ढ्यापढ्यापे समय'को रुपमा चिनिन्थ्यो।
मस्यौदा समितिका तर्फबाट रमेश लेखकले सदनमा ढ्यापढ्यापे समय मौलिक र फरक ढंगको परम्परा भएको र राम्रोसँग उपयोग हुँदै आएको बताए। 'ढ्यापढ्यापे समयलाई अब नियममै राखेर सुव्यवस्थित गरेर संशोधनलाई स्वीकार गर्न चाहन्छौँ', उनले भने।
लेखकले ढ्यापढ्यापे समयलाई संशोधनकर्ता सांसदले आकस्मिक समय भनेर नाम दिएको भन्दै त्यो स्वीकारयोग्य भएको बताए।
नियमावलीमा आकस्मिक समयलाई परिभाषित पनि गरिएको छ। लेखकले भने, 'अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिका घटना वा विषयका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ।'
त्यस्तै, सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमार्फत नियन्त्रित गर्ने आशंका गरिएको प्रावधान पनि परिवर्तन भएको छ। सत्तापक्षका केही सांसदहरुले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए।
सो प्रस्तावलाई परिमार्जन गरिएको लेखकले बताए। उनका अनुसार, अब कार्यव्यवस्था समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकता अनुसार बस्ने छ भन्ने उपनियम थपिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।