काठमाडौं- नेपाली कांग्रेस कार्यसम्पादन समितिले आइतबार लिएको कारबाही फिर्तालाई नेता गोविन्दराज जोशीले जालझेलको संज्ञा दिएका छन्। आफूमाथिको कारबाही फुकुवा गरिएपछि तनहुँको दमौलीमा पत्रकार सम्मेलन गरी नेता जोशीले कांग्रेसले आफूसँग कुनै सल्लाह नगरी आफ्नो समूहका नेताहरुलाई फुटाउन कारबाही फिर्ता लिएको आरोप समेत लगाए।
जोशीले कांग्रेसले बाटो बिराएपछि आफूहरु त्यसको लागि शुद्धीकरण अभियानमा लागेको भन्दै कांग्रेस केन्द्रीय समितिले त्यसलाई स्वीकार गर्नु पर्ने माग गरे। साथै उनले आफूसँगै तनहुँका अन्य नेताहरुमाथि भएको कारबाही पनि फिर्ता हुनु पर्ने बताए।
उनले तनहुँमा कांग्रेसले लामो समयसम्म जिते पनि कुनै परिर्वतन नगरेको भन्दै त्यसको विरुद्धमा आफू ४ मंसिरको निर्वाचनमा उम्मेदवारी दिए पनि उपनिर्वाचनमा भने उम्मेदवार नबन्ने जानकारी दिए। जोशीले आफूमाथिको कारबाही फुकुवाको प्रचार गरेर कांग्रेस नेताहरुले आफूलाई जिल्लामा सघाउने समूह फुटाउने प्रयत्न गरिरहेको आरोप लगाए। उनले उपनिर्वाचनमा आफू चुप लागेर बस्ने र कतै पनि नखुल्ने पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।