काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले भने, ‘यो समयमा हामी अत्यन्त संकटमा छौं। आर्थिक संकट केही हाम्रा सरकारी नीति, कोभिड र अन्तर्राष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो। तर पछिल्ला केही समय रेमिट्यान्स र पर्यटकको संख्या बढेको छ। यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ। यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउने हो।’
वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले भने, ‘पछिल्ला दिनमा केही परिमार्जन त भएको छ। रोजगारी सृजना गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्न तयार छ। तपाईंहरुले वातावरण बनाउनुभयो भने।’
उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दे सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे।
उनले भने, ‘बरु तीन वर्षबाट दुई वर्षे कार्यकाल बनाऔं। तपाईंहरु तीनै जना नेतृत्वमा पुग्न सक्नुहुन्छ तर यही अवस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनुपर्ने निश्चित छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।