काठमाडौं– महिलाबाटै महिलाको चरित्र हत्या भएको भन्दै तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका–४ थामीगाउँ खल्लाबाडा घर भइ काठमाडौं नेपालटार बस्ने भएकी १९ वर्षीया देवकी न्यौपाने र पाँचथरको तुम्मेवा गाउँपालिका–३ घर भइ काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीया मुना त्रिताल र गोरखाको गण्डकी गाउँपालिका–१ घर भइ काठमाडौं बुढानिलकण्ठ–१० आकाशेधारा बस्ने ३९ वर्षीया उर्मिला घिमिरे छन्।
उनीहरुलाई केन्द्रीय साइबर ब्यूराको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकी न्यौपानेले एक महिलाको पूर्वप्रेमीसँग भएका गोप्य भिडिओ तथा फोटाहरु हुनेवाला श्रीमानलाई पठाएको पाइएपछि पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले बताए।
त्रितालले भने अर्की एक महिलाको फोटो इटिड गरेर अश्लिल बनाउँदै सामाजिक सञ्जालमा राखिदिएकी थिइन्। घिमिरेले भने फेक अकाउन्ट खोलेर अश्लिल संवाद गर्ने र ती संवादहरु टिकटकमा राख्ने गरेको पाइएको छ।
पक्राउ परेकी न्यौपानेलाई ७ दिन, त्रिताल र घिमिरेलाई ४ दिनको म्याद लिएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।