काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकको लागि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्दै बिहीबार राष्ट्रपतिले यस्तो सुझाव दिएका हुन्।
उनले पशुपति क्षेत्रका मन्दिरहरुमा पूजा गर्न जाने मात्रै नभई पूजापछि विश्रामका लागि पनि बगैँचाहरुको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताए। पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्न सक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतीक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको बताउँदै पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्यक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले भने, ‘पशुपतिनाथ नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल पनि हो। पूजाआज र दर्शन सकेपछि केही समय विश्रामका लागि महनमोहक वातावरण बगैँचा बनाउने गरी यस उद्यानलाई अझै व्यवस्थित गर्न जरुरी छ। पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।