काठमाडौं- सरकारकले फागुन २९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घोषणा गरेका शहीदहरुको अभिलेखमा २ हजार जनाको नाम नै फेला नपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनाएको छ।
‘सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेकामध्ये इन्सेकको अभिलेखमा रहेका ६ हजार १४ जनाको नाम फेला परेको छ,’ प्रतिवेदन ‘२ हजार ४ सय ५६ जनाको नाम फेला परेन,’ इन्सेकद्वारा चैत १६ गते जारी विज्ञप्तिमा उनीहरुको नाम नै फेला नपरेकाले उनीहरुको विषयमा प्रश्न उठेको भनिएको छ।
‘फेला परेकामध्ये राज्य पक्षबाट मारिएका ४ हजार ९ सय ५० जना र अन्य पक्षबाट मारिएका १ हजार ६४ जना रहेका छन्,’ इन्सेकको विज्ञप्तिमा भनिएको छ। राजपत्रमा प्रकाशित शहीदहरूको सूचीमा सबैभन्दा बढी कर्णाली प्रदेशका १ हजार ५ सय ८१ जना रहेका छन्। जसमध्ये इन्सेकको अभिलेखमा रहेका १ हजार २ सय ६२ जना छन्।
त्यसैगरी कोशी प्रदेशमा १ हजार १ सय ६७ जनालाई सरकारले शहीद घोषणा गरेकामा इन्सेकले राखेको अभिलेखमा रहेका ८ सय ४३ जना समेटिएका छन् ।
मधेस प्रदेशमा सरकारले ७ सय ९ जनालाई शहीद घोषणा गरेकामा इन्सेकको अभिलेखमा रहेका ४ सय ९० जना समावेश भएको पाइएको छ।
त्यसैगरी बागमती प्रदेशका १ हजार १ सय १३ जना शहीदको सूचीमा रहेकामा ९ सय ६५ जना इन्सेकमा अभिलेखित व्यक्तिको नाम रहेको छ ।
गण्डकी प्रदेशमा ६ सय ८६ जनालाई शहीद घोषणा गरिएकोमा इन्सेकमा अभिलेखित ५ सय ७७ जना समेटिएका छन्।
लुम्बिनी प्रदेशका १ हजार ५ सय ६७ जनालाई सहिद घोषणा गरिएकामा इन्सेकको अभिलेखमा रहेका ६ सय ८ जना समाविष्ट छन् ।
सुदूरपश्चिमका १ हजार ५ जना शहीदमध्ये इन्सेकको द्वन्द्वपीडित पार्श्वचित्रमा रहेका ७ सय ८९ जनाको नाम समावेश छ।
त्यसैगरी नवलपरासीका ५८ जना शहीदमध्ये ५० जनाको नाम इन्सेकको अभिलेखमा पनि छ । रुकुमका ५ सय ८४ जना शहीदमध्ये ४ सय ३० जनाको नाम इन्सेकमा पनि अभिलेख छ ।
‘सन् १९९२ देखि निरन्तर नेपालको मानवअधिकार अवस्थाकाबारेमा अभिलेख गर्दै आएको छ । यसले गरेको अभिलेखमा यस अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडितको गुणात्मक तथा परिमाणात्मक तथ्याङ्क सङ्ग्रहित छ। नेपालको लोकतान्त्रिक आन्दोलन तथा १० वर्ष लामो सशस्त्र द्वन्द्व (२०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म) का क्रममा मारिएका, बेपत्ता पारिएका तथा घाइतेको विवरण सूची इन्सेकसँग उपलब्ध छ,’ विज्ञप्तिमा उल्लेख छ।
सशस्त्र द्वन्द्वको अवधिमा मारिएका, बेपत्ता पारिएका, घाइते र अङ्गभङ्ग भएका व्यक्तिको विवरण समेटेर इन्सेकले द्वन्द्वपीडित पार्श्वचित्र प्रकाशन गरिसकेको छ।
प्रकाशित पार्श्वचित्रमा सशस्त्र द्वन्द्वका क्रममा १३ हजार २ सय ४८ जना मारिएका र ९ सय ३१ जना बेपत्ता पारिएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।