काठमाडौं– खालिस्तान समर्थक एव वारिस पञ्जाव दे सगठनका प्रमुख अमृतपाल सिंहले एक भिडियो सन्देश जारी गरेका छन्।
नेपालमा प्रवेश गरेर लुकिरहेको भनी खोजी भइरहेका सिंहले भिडियोमा आफूलाई पक्राउ गर्न बल प्रयोग गरिएको र निर्दोष पञ्जावी युवाहरुलाई पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेका छन्।
भारतीय प्रहरीले अमृतपाल सिंहविरुद्ध १८ मार्चदेखि कारबाही सुरु गरेको थियो। प्रहरी उनलाई पक्राउ गर्न उनको घर पुगेको थियो। तर उनी त्यहाँ फेला परेनन्।
प्रहरीले अमृतपालका केही साथीहरुलाई पक्राउ गरेको छ। फरार रहेका उनी नेपाल प्रवेश भएको भन्दै भारतीय दूतावासले नेपालको कन्सुलर विभागलाई पत्र लेखेको थियो। नेपाल प्रवेश गर्ने सीमाको सीसीटीभी फुटेजमा अमृतपाल जस्तै संदिग्न व्यक्ति नेपाल प्रवेश गरेको भन्दै दूतावासले पत्र लेखेको थियो। नेपाल प्रहरीले भने सिंह हालसम्म नेपालमा रहेको सूचना नभएको भन्दै आएको छ।
अमृतपालको भिडियो अचानक विभिन्न डिजिटल र स्याटेलाइट च्यानलमा प्रसारण भएको जनाइएको छ। उक्त भिडियोको स्थान र समयका बारेका पञ्जाव प्रहरीले स्वतन्त्र पुष्टि गरेको छैन।
पञ्जाव प्रहरी प्रमुख गौरव यादवले २६ मार्चमा ट्विट गर्दै ३५३ जनालाई हिरासतमा लिएको र तीमध्ये १९७ जनालाई रिहा गरिएको उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।