काठमाडौं– नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ।
यही चैत १३ देखि आजसम्म भएको उक्त संवाद मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेको थिए। संवादमा नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ र अमेरिकी टोलीका २२ जनाको सहभागिता थियो।
यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग अमेरिकी टोली प्रमुख स्मिथले भेटवार्ता गरेको सेनाले जानकारी दिएको छ। उक्त वार्ता र संवादले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।