काठमाडौं– नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्न बैशाख १ गते ओशो महोत्सव आयोजना हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।
गतवर्ष पनि ओशो तपोवनले बैशाख १ गते १५ हजार बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी उत्सव सम्पन्न गरेको थियो।
सोही कार्यक्रमको निरन्तरतास्वरुप यसवर्ष पनि नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव बिहान ९ बजेखि बेलुका ९ बजेसम्म हुने छ। यसमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु गरिने बताइएको छ।
ओशो महोत्सव साधनाको महोत्सव हुने बताइएको छ। ओशो महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेटिडेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन हुनेछ।
पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले केही नहुने देशले बौद्धिक सीपबाट विकसित हुँदै गए पनि नेपाल भने प्राकृतिक श्रोत र साधनले पूर्ण भए पनि गरिब हुँदै गएको बताए।
उनले मानिसको विवेकले नै सबैकुरालाई मजबुत बनाउन सकिने उल्लेख गरे। स्वामी आनन्दअरुणले प्राकृतिक सम्पदा केही नभएका देशहरु नेपाल भन्दा विकसित हुँदै गए पनि नेपाल भने प्रत्येक दिन गरिब हुँदै जानु आश्चर्यजनक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।