काठमाडौं- विवेकशील साझा पार्टीले मिटरब्याज पीडितहरुको जारी आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष समीक्षा बास्कोटाले मिटरब्याज पीडितका माग शीघ्र सम्बोधन गरी मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकारसँग माग गरेकी छिन्।
'मिटरब्याज पीडितहरुका माग र समस्याको समाधानका लागि यसअघि नै गठित मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलद्वारा पेस गरिएको प्रतिवेदनमा दिइएको सुझावका अतिरिक्त यस्ता समस्याको दिर्घकालीन समस्याको लागि वित्तीय साक्षरता बढाउने राष्ट्रिय अभियान सञ्चालन गर्ने, मिटरब्याज जस्ता अनौपचारिक तथा गैर कानुनी वित्तीय कारोबार समाजमा प्रचलित लेनदेनको कार्य घटाउन वित्तीय संस्थाहरुलाई जवाफदेही बनाउने, नागरिकले ऋण लिनुपर्ने बाध्यताका घटनाहरु अध्ययन गरी हरेक घटना सुहाउँदो योजना बनाई स्थानीय सरकारद्वारा कार्यान्वयन गराउने नीतिगत व्यवस्था गर्न हामी सरकारलाई सुझाव समेत दिन चाहन्छौं', विज्ञप्तिमा भनिएको छ।
मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत 'विशेष कार्यान्वयन अभियान' नै चलाएर मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउन समेत विवेकशील साझाले सरकारसँग माग गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।