काठमाडौं– भारतको पृथकतावादी समूह खालिस्तान नेपाल प्रवेश गर्नसक्ने भन्दै उच्च सर्तकता अपनाउन गृहमन्त्रालयले निर्देशन दिएको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई पत्राचार गर्दै गृहले दक्षिणी सीमा नाकामा सतर्कता बढाउन निर्देशन दिएको स्रोतले जानकारी दियो।
भारतलाई टुक्राएर अलग्गै राज्य बनाउनुपर्ने भन्दै शिख धर्मावलम्बीहरुले आन्दोदन चर्काएका छन्। त्यसपछि भारतमा खालिस्तान समर्थक अमृतपाल सिंहमाथि धरपकड सुरु भएको थियो। धरपकड सुरु भएपछि खालिस्तानीहरु नेपाल प्रवेश गर्नसक्ने भन्दै सतर्कता अपनाउन गृह मन्त्रालयले निर्देशन दिएको हो।
गृहको निर्देशनपछि प्रहरीको आतंकवाद तथा प्रतिआतंकवाद हेर्ने विशेष ब्यूरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्सी ब्यूरोको टोलीले सुरक्षा सतर्कता अपनाएको छ। स्रोतका अनुसार ब्यूरोका अधिकारीहरुले सादा पोशाकमा सीमा क्षेत्रमा गएर निगरानीसमेत बढाएका छन्।
भारतको कडा विरोधका बावजुद पनि बेलायत, अमेरिका र क्यानडासहितका देशमा खालिस्तान पक्षधरले आन्दोलन चर्काउँदै आएका छन्। आन्दोलनकारीले लण्डनस्थित उच्चायोगमा भारतीय झण्डा हटाएर खालिस्तानको झण्डासमेत राख्ने कोशिश गरेका थिए।
खालिस्तान समूहले भारतको पन्जाब राज्यलाई अलग देश बनाउनुपर्ने माग गरेका छन्। उनीहरुले पन्जाबसँगै हरियाणाको केही भाग, उत्तराखण्ड, चण्डीगढका केही भागहरुलाई समेटेर खालिस्तान बनाउनुपर्ने माग राखेका छन्।
भारतको अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरेपछि भारतीय प्रहरीले खालिस्तानमाथि धरपकड सुरु गरेको हो। भारतमा धरपकड सुरु भएपछि उनीहरु भागेर नेपाल आउनसक्ने भन्दै सतकर्ता बढाइएको छ।
सन् १९८४ जुन ६ मा भारतीय राज्य पन्जाबको राजधानी अमृतसरमा रहेको शिख धर्मावलम्बीको स्वर्ण मन्दिरमा भारतीय सेना बलपूर्वक प्रवेश गरेपछि यो विवाद चर्किएको थियो। त्यतिबेला भारतमा शिख धर्मावलम्बीका लागि अलग देश खालिस्थान स्थापना गराउने पृथकतावादी आन्दोलन उत्कर्षमा पुगेको भन्दै सेना बलपूर्वक प्रवेश गरेको थियो।
भारतीय फौज मन्दिरभित्र प्रवेश गर्दा भएको भिडन्तमा डेढ सय पृथकतावादी, ८३ सुरक्षाकर्मी र करिब ५०० सर्वसाधारणको मृत्यु भएको थियो। त्यस सैन्य कारबाहीलाई ‘अपरेसन ब्लु स्टार’का नामले चिनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।