काठमाडौं– अमेरिकी सेना र नेपाली सेनाबीच द्विपक्षीय ‘ल्याण्ड फोर्स टक’ हुने भएको छ। चैत १३ गतेदेखि १५ गतेसम्म दुई देशका सेनाबीच काठमाडौंमा छलफल हुने भएको हो।
सन् २०१८ देखि नियमित रुपमा अमेरिकी र नेपाली सेनाबीच ‘ल्याण्ड फोर्स टक’ हुँदै आएको छ। गतवर्ष यो कार्यक्रम अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।
यसपटकको छलफलमा शान्ति व्यवस्था (पिस किपिङ), मानवीय सहायता र डिजास्ट रेस्पोन्स (एचएडीआर) र सब्जेट म्याटर एक्सचेन्ज गरी चार विषयमा छलफल हुने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
कार्यक्रममा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको सहसचिव/उपसचिवहरुको साथै नेपाली सेनाका रथी तथा अधिकृतहरु गरी १४ सदस्यीय टोली सहभागी हुनेछन्।
अमेरिकी सेनाको तर्फबाट प्यासिफिक कमाण्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मीथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछ। उक्त कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।