काठमाडौं– बिचौलियाको रुपमा काम गर्ने एकजना महिलालाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका–९ घर भइ हाल काठमाडौंको गोठाटार बस्दै आएकी २३ वर्षीया मनिता राईलाई ट्राफिक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
यातायात कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो छरितो तरिकाले काम गरिदिन्छु भन्दै रकम समेत लिने उद्देश्यले राईले बिचौलियाको रूपमा काम गरेको पाइएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको टोलीले सेवाग्राहीका ३ थान सवारी चालक अनुमतिपत्रसहित नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा आएकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएकोमा जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।
यस्ता खालका गैरकानुनी कार्य रोक्नका लागि सेवाग्राहीहरू समेत सचेत हुनुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।