काठमाडौं - नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशन तयारी पूरा भएको छ । महाधिवेशन १७ र १८ चैतमा काठमाडौंमा हुनेछ।
वरिष्ठत उपाध्यक्ष अम्बादत्त भट्टले अध्यक्षका लागि दाबी गरेका छन्। संगठनको करिब ७ वर्षपछि हुन लागेको महाधिवेशनमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका भट्ट अध्यक्षको दाबी गरेका हुन्। हालसम्म अध्यक्षमा दाबी गर्ने उनी एक्लो देखिएका छन्।
भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्टले दुई कार्यकाल उपाध्यक्ष रहेर काम गरेका कारण अब अध्यक्षको दाबी स्वभाविक भएको बताए। भट्ट २०६९ देखि संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्। ‘व्यक्तिगत दुई कार्यकालदेखि उपाध्यक्ष छु, यसपालि नेतृत्व लिने सोच बनाएको छु’ उनले भने, ‘नेतृत्वमा अरू साथीको खासै तयारी देखेको छैन । बहुसंख्यक साथीको समर्थन प्राप्त गर्छुजस्तो लाग्छ ।’
विधान मस्यौदा समितिका संयोजकसमेत रहेका भट्टले संगठनको संरचनागत संख्या तय गर्न संघीय निजामति ऐन नबन्दा कठिनाइ भएको बताए।
संगठनका सचिव लोकेन्द्र चौलागाईंले प्राविधिक रूपले हल व्यवस्थापनदेखि लिएर प्रचारका लागि ब्यानर पोस्टर छपाइलगायत तयारी भएको बताए।
जिल्ला अधिवेशनहरू पूर्णरूपले सम्पन्न भइसकेको र प्रदेश अधिवेशन भइरहेको उनले बताए। १६ गतेसम्म संगठनका सबै इकाईमा अधिवेशन सम्पन्न भएर महाधिवेशनबाट नेतृत्व चयन गरिने उनले बताए। सबैतिरबाट प्रतिनिधि छानिसकेको उनले बताए। उनकाअनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।