काठमाडौं- अन्तर्राष्ट्रिय अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगिताका लागि नेपाल ल क्याम्पसका विद्यार्थीको समूह छनोट भएको छ। नेपालमा कानुनी शिक्षा पठनपाठन हुने १५/१६ वटा क्याम्पसलाई पछि पार्दै नेपाल ल क्याम्पसका विद्यार्थीको समूह छनोटमा परेको क्याम्पस प्रमुख डा डीएन पराजुलीले नेपाल लाइभलाई जानकारी दिए।
क्याम्पस प्रमुख पराजुलीले अप्रिल २०२३ मा फिलिप सी जेसप इन्टरनेसनल ल मुटकोर्ट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नका लागि नेपाल ल क्याम्पसका विद्यार्थी रोशन नेपाल, मोनिशा चौधरी र रोजिना श्रेष्ठ छनोट भएको बताए। नेपाल ल क्याम्पसको टोलीले फाइनल राउण्डमा काठमाडौं विश्वविद्यालय, काठमाडौं स्कुल अफ ल, चक्रवर्ती र नेसनल ल लगायतका कलेजहरुलाई पछि पार्दै नेपाल ल क्याम्पस छनोट भएको हो।
उनीहरु प्रशिक्षक ओजस्वी भट्टराईसहित उक्त प्रतिस्पर्धाका लागि आगामी २३/२४ गते अमेरिका प्रस्थान गर्दैछन्। १०० वटा देशबाट करिब ७०० विजयी टिमबीच प्रतिस्पर्धा हुने क्याम्पस प्रमुख पराजुलीले जानकारी दिए। फिलिप सी जेसप इन्टरनेसनल ल मुटकोर्ट प्रतियोगिता कानुनका विद्यार्थीको लागि सबैभन्दा ठूलो वकालत प्रतियोगिताको रुपमा चिनिन्छ। विश्वभरका कानुनका विद्यार्थीहरूको टिमले मौखिक रुपमा तर्कहरू दिएर, न्यायाधिशहरूको प्यानलमा लिखित निवेदन पेस गरेर र अन्तर्राष्ट्रिय न्यायालयको अगाडिको कार्यबाहीको अनुकरण गरेर एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्ने गर्छन्।
यस वर्षको मुटकोर्ट केस शान्ति सन्धिको व्याख्या, कथित कब्जा गरिएको क्षेत्रमा घातक आक्रमण, एकपक्षीय आर्थिक प्रतिबन्ध, अन्तर्राष्ट्रिय कानुन अन्तर्गत बन्दीहरूसँग व्यवहार र फोहोरको उचित व्यवस्थापन गर्न असफल हुँदा कानुनी नतिजाहरूको समस्यासँग सम्बन्धित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।