काठमाडौं- नेपालमा ६६ लाख ६६ हजार ९३७ परिवार रहेको देखिएको छ। जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको जनसंख्याको अन्तिम नतिजाअनुसार २१ लाख परिवारका मुली महिला रहेका छन्।
१० वर्षअघिको भन्दा महिला मुलीको संख्या बढेको विभागले जनाएको छ। परिवारको औसत आकार घट्दै गएको बताइएको छ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो ।
अहिले परिवारको औसत आकार चारभन्दा केही बढी रहेको बताइएको छ। मधेसमा एक परिवारमा पाँच जनाभन्दा बढी रहेका छन् भने गण्डकीमा ४ भन्दा पनि कम जनसंख्या रहेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।