काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण आज ह्वात्तै बढेको छ। शून्यमा झरेको संक्रमण आज एकै दिन १७ जनामा देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ। चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए। चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो।
सक्रिय संक्रमित पनि बढेको पाइएको छ। आज ३० जना सक्रिय संक्रमित रहेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए।
‘भारतमा संक्रमण बढिरहेको छ। भारतबाट संक्रमित नेपाल आइरहेका छन्’, उनले भने, ‘हिजोमात्र सीमानाकाबाट सात संक्रमित नेपाल आएका छन्।’ उनले खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए। उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।