काठमाडौं– सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ५ नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।
बढुवा समितिले ५ जनालाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो। सिफारिसमा परेका ५ जनालाई बढुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले नेपाल लाइभलाई बताइन्।
मन्त्रिपरिषद्ले डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको छ।
उनीहरु ५ जना मध्येबाटै १ जना आउँदो चैत ११ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा बढुवा हुनेछन्।
हालका आईजी धीरजप्रताप सिंह तथा उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित तथा डीआईजीहरु चैत १० गते अनिवार्य अवकाशमा जाँदैछन्। जसकारण अहिले बढुवा भएका ५ जना मध्येबाट १ जना नेपाल प्रहरीको ३०औं आईजीमा बढुवा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।