काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दया मायाले नभई पद्धति हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन्।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सिनियर अधिकृतको लागि सञ्चालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा बोल्दै उनले भने, ‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होईन संगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ।’
उनले वर्तमान अवस्थामा संगठनभित्र अभाव भए पनि कसैको दबाब र प्रभावमा नपर्ने दाबी गरे। उनले भने, ‘वर्तमान अवस्थामा संगठन अभावमा होला तर कसैको दबाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईंहरु सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला।’
उनले आपसी बन्धुत्व भाईचारा राख्दै मैले मात्र नभई हामी सबैले अवसर प्राप्त गर्नुपर्छ भन्ने भावना हुनुपर्ने बताए। आईजी अर्यालले निर्देशन दिँदै भने, ‘तपाई संगठनमा एउटा सामान्य सदस्य मात्र होईन विशेष हुनुहुन्छ, हरेक सदस्यसँग संगठन बदल्न सक्ने क्षमता हुन्छ।’
आफ्नो त्यो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै आफ्नो कमाण्ड र नेतृत्वसँग हातेमालो गर्दै संगठन विकासको एउटै लक्ष्यका साथ अघि बढ्नुहोला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।