काठमाडौं– नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको छ।
शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिसँगको भेटमा सभामुखले ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै महासंघको प्रदेश समितिले उक्त आग्रह गरेको हो।
त्यसप्रकारको अभिव्यक्तिले सभामुख घिमिरेले आफ्नो पदीय कद घटाएको मात्र नभइ जसलाई जे भनेपनि हुन्छ भन्ने भाष्य निर्माणमा सघाउ पुर्याएको महासंघले बताएको छ।
‘कुनै पनि पेसा, व्यवसाय प्रश्न र आलोचनाभन्दा बाहिर छैनन्/हुँदैनन् पनि। नेपाली पत्रकारिता क्षेत्रमा समेत समस्या होलान्। त्यसलाई कानुन बनाएर विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने हाम्रो मान्यता छ’, महासंघका महासचिव रामकुमार शाहीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर्क र तथ्ययुक्त प्रश्न गर्नु, सुन्नु र त्यसमा प्रतिक्रिया जनाउनु बेग्लै कुरा हो। तर, कोरा अनुमानका भरमा अप्रमाणित आरोप लगाउनु निन्दनीय हुन जान्छ।’
महासंघले सभामुखको हालसम्मको राजनीतिक र व्यक्तिगत जीवनमा कुनै पत्रकारले अनुचित दख्खल दिएको भए, अनुचित लाभका लागि दबाब दिएको भए, नियत साँधेर आँच पुर्याएको भए र सभामुखसँग त्यसको प्रमाण भए कानुनी उपचारका लागि उनी अहिले पनि जान सक्ने बताएको छ। त्यसका लागि सहयोग गर्न महासंघ सदैव तयार नै रहेको विज्ञप्तिमा जनाइएको छ।
‘तर, सिंगो प्रेस जगतलाई आक्षेप लगाउने, बदनाम गराउने र पेसाप्रति नै वितृष्णा एवं बिकार जन्माउनेगरि दिएको अभिव्यक्ति खेदजनक छ’, महासंघको प्रदेश समितिले भनेको छ।
जनताको सार्वभौम थलो प्रतिनिधि सभाका सभामुखले सञ्चार जगत र सञ्चारकर्मीप्रति राखेको अभिव्यक्तिले सद्मा बन्ने कानुन कसरी मिडियामैत्री होलान् भन्ने गम्भीर प्रश्न जन्मिएको महासंघको भनाइ छ।
‘यसतर्फ गम्भीर र सचेत बन्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्न चाहन्छौं। साथै, सभामुख घिमिरेलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
यस्तो छ विज्ञप्ति :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।