काठमाडौं– निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको निर्वाचनको नतिजा २ घन्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको र त्यसपछि २ घन्टाभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदानसँगै मतगणनाको पनि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन कार्यालय रहेको उनले बताए।
उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी ४ उम्मेदवार छन्।
जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निस्क्रिय गराएकी छन्। उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निस्क्रिय गराएकाले मतपत्रमा भने उनको पनि नाम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।