जनकपुर– मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही २ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार यूनाइटेड अरब ईमिरेट्स (यूएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा मधेस प्रदेश सरकारले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
दुवैजना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही २ लाख रुपैयाँ प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए।
सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका छन्।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले यूएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेको हो। जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।