काठमाडौं– इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु भृकुटी नगरपालिका–७ का २३ वर्षीय शिव शरण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
कपिलवस्तु बुद्दभुमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई एनसीबी काठमाडौंको अनुरोध तथा एनसीबी अबुधाबी यूएईको सहयोगमा यूएईबाट पक्राउ गरेको हो।
घटनापश्चात शिव शरण फरार भई यूएई बसेको अनुसन्धानको क्रममा खुल्न आएपछि चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनीविरुद्ध रेड नोटिस् जारी भएको थियो।
पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकोमा २०७९ भदौ २१ गते एनसीबी अबुधाबीले उनलाई पक्राउ गरि सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो।
एनसीबी काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाएपश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिनुहुन भनि जानकारी प्राप्त भए अनुसार एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो।
उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।