काठमाडौं– काठमाडौं महानगरपालिकी कार्यबाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधिदिएको गुनासो गरेकी छन्।
बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मूल समारोह कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन्।
उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउनुपर्ने बताइन्। उनले काठमाडौं महानगरले आफ्नो काम कर्तव्य,अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखि तीब्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको बताइन्। उनले स्थानीय तहलाई कार्यान्वयन गर्न कानुन नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्या झेल्नुपरेको बताइन्।
उनले स्थानीय तहको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीब्र गतिमा अगाडि बढाउनका लागि संघ, प्रदेश सरकारसँग समन्वय गरिरहेको जानकारी दिइन्।
डंगोलले उपभोक्ताहरुको हक अधिकार सुनिश्चित गर्न दोहोरो काम कर्तव्यलाई नीतिगत रुपमा नै सुधार गर्नुपर्ने आजको आवश्यक रहेको बताइन्। उनले बजार अनुगमन व्यक्तिगत भन्दा पनि स्वचालित प्रणालीमा हुनुपर्ने बताइन्।
महानगरले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नका लागि तत्पर रहेको भन्दै सबैले फिल्डमा काम गर्दा निष्पक्ष भएर काम गर्न सक्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।