प्रतिकात्मक तस्बिर
हेटौँडा– गाडीको ठक्करबाट मकवानपुरको हेटौँडामा १ जना महिलाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा बुधबार बिहान गाडीको ठक्करबाट महिलाको मृत्यु भएको हो।
नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो। मृतक महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए।
गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।